Mero Chitwan
आज सार्वजनिक बिदा छैन, तर यी स्थानीय तहले दिएका छन् जनयुद्ध दिवसको बिदा

काठमाडौं–जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ भने गृह मन्त्रालयले पनि आज बिदा नभएको स्पष्ट पारिसकेको छ । 

तर, माओवादी नेतृत्व रहेका केही जिल्लाहरुले भने आज सार्वजनिक बिदा दिएका छन । 

आज कालिकोटको रास्कोट नगर्पालिका तथा खाँडाचक्र, महाबै, पचालझरना र पलाता गाउँपालिकाले बिदा दिएका छन् । यस्तै, गोरखाको बारपाक, सुलिकोट, अजिरकोट र गण्डकी गाउँपालिकाले तथा दाङको बगलाचुली गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन् । 

bida-1707794542.jpg

गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत पुस १३ गते ‘जनयुद्ध दिवस’ मा बिदा दिने सरकारी निर्णय बदर गरेको थियो ।

नेपाल सरकारको २०७९ माघ २९ को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सूचना एवम् सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सूचनाहरूसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको थियो । तर उक्त आदेशमा संघ र प्रदेश सरकारबारे मात्र बोलिएको भन्दै माओवादी नेतृत्वमा रहेका केही जिल्लाका पालिकाहरुले भनेबिदा दिएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update