काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा संलग्न भइ ज्यान गुमाएका ६ जना नेपालीको शव फिर्ता पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन रुसी सरकारसँग अनुरोध गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै रुसी सेनामा संलग्न भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गर्दै रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउनसमेत अनुरोध गरेको छ ।
रुसी सेनामा सहभागी भई ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
रुस-युक्रेन युद्धमा बन्दी बनाइएका विवेक खत्रीलाई नेपाल फर्काउन कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले सरकारी कामकाज र रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्यलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न पनि अपिल गरेको छ ।
नेपालीलाई परम्परागत सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना गर्ने नीति नरहेको उल्लेख गर्दै मन्त्रालय प्रलोभनमा परेर वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुनसमेत अनुरोध गरेको छ ।