पर्सा : वीरगन्जका मेयर राजेशमान सिंहले आफ्नो दुईवटा श्रीमती भएको स्वीकारेलगत्तै कान्छी श्रीमती भनिएकी रीता भट्टराईले उनीविरुद्ध अंश र सम्बन्धविच्छेद (डिभोर्स) को मुद्दा दायर गरेकी छिन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० की रीताले आइतबार जिल्ला अदालत पर्सामा सिंहविरुद्ध अंश र सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएकी हुन् । अदालतमा उनले पेस गरेको फिरादपत्रमा मेयर सिंहसँग आफूले प्रेम विवाह गरेको तर सो कुरा सार्वजनिक रुपमा बाहिर नदेखाएको दाबी गरिएको छ ।
आफ्नो शरीरबाट जन्मेकी छोरी रुबिनाको बाबु बनेर सम्पूर्ण भरणपोषण तथा सरकारी कागजात सिंहले नै बनाइदिएको र सोही आधारमा आफू उनको पत्नी भएको तथ्य स्थापित हुने भट्टराईको फिरादपत्रमा दाबी गरिएको छ ।
अर्काको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्न वीरगन्ज पुगेको गृह मन्त्रालयको छानबिन समितिसँग मेयर सिंहले रीता भट्टराई आफ्नो कान्छी श्रीमती भएको स्वीकारेका थिए ।