सौराहा : चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि १८औं सौराहा फूड फेस्टिभल सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसपार्क जाने सडकको दक्षिणतर्फको खाली जमिनमा फेस्टिभल हुँदैछ ।
पाँच दिनसम्म चल्ने फेस्टिभलमा बहु जातजातिका झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति रहने छ ।
दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिभलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिभलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिभलमा ५० वटा खानाका स्टलहरु रहने छन् ।