
चितवन-वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ ।
भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।
भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक छन्। घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उनले सबै जिम्मेवारी थेग्न सकिनन् र उनलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो ।
गीताले भनिन्, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उनले बताइन् । “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहँुदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”
गीताले श्रीमानलाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताइन् । उनले भनिन्, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमानलाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”
त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उनको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।
अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय छिन् । उनले घरखर्च आफँंले कमाएर चलाएकी छन् । उनले भनिन्, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उनी आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आएकी छन् ।
विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताइन् ।
भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिए ।
वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिए । उनका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ ।