Mero Chitwan
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने

भरतपुर - भरतपुरमा शुक्रबारदेखि मेयर्स कप ट्वान्टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिकाले गरेको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत गरी २० विद्यालयले भाग लिनेछन् ।

रामपुरमा निर्माण हुन लागेको क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने प्रतियोगितामा फागुन ४ देखि दोस्रो चरणका खेल हुनेछ ।

बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नकआउट चरण पार गरेका आउने १० टिमलाई गोलाप्रथाबाट दुई समूहमा विभाजन गरिने छ । ५–५ टोली रहने दुई समूहलाई राउन्ड रोबिन लिग खेलाइने छ ।

चितवन जिल्ला क्रिकेट संघ प्रतियोगिताको सह–आयोजक तथा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज प्रतियोगिताको मुख्य प्रायोजक छ । प्रतियोगितामा विजयी हुने क्रिकेट टिमले रनिङ ट्रफी जित्नेछ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्दै उपाधि भिडन्तमा जानेछन् ।

प्रतियोगिताको फाइनल मिति घोषणा भइसकेको छैन । विजेताले रनिङ ट्रफी पाउनुका साथै प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्टले विजेतालाई ६० हजार र उपविजेतालाई ३० हजार रुपैयाँ बराबरका खेलकुद सामग्री पनि दिने छ । एक्सपर्टले प्रतियोगितामा सामेल सामूदायिक विद्यालयका सबै १० टिमलाई खेलकुद सामग्री पनि दिएको छ ।

लिग खेल्ने १० टिमलाई जर्सी पनि दिनेछ । प्रतियोगिताको रनिङ ट्रफी भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बुधबार अनावरण गरेकी छन् ।

bhatpur-cricket1-1707323870.jpg

मेयर दाहालले भरतपुर क्रिकेट हबको रूपमा उदाउने भएका कारण विद्यालय तहबाटै खेललाई प्रवर्द्धन गर्न सुरु गरेको उल्लेख गर्दै ग्रासरुट क्रिकेटलाई विकास गर्ने अभियानमा महानगर लागेको बताइन् । 

bharatpur-1707323868.JPG

bharatpur-renu-1707323867.jpg

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update