Mero Chitwan
चितवनको पूरानो सदरमुकाम उपर्दाङ्गढीमा बढे पर्यटक

चितवन- इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवर्द्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ । 

गोलघर, टिकट काउन्टर, पिकनिकस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको उनले जानकारी दिए । पर्यटकको मागअनुसार फोटो खिच्नका लागि आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा आइलगढी लेखेको संरचना निर्माण गरिएको सबइञ्जिनियर गुरुङले बताए । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो समय उपर्दाङगढीमा आन्तरिक पर्यटक बढेको जानकारी दिए । 

  गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गढीको संचरना पुरानै अवस्थामा रहने गरी जीर्ण भएका संरचना मर्मतका साथै केही नयाँ संरचना निर्माण गरेकोे उनको भनाइ छ । गढीको संरक्षणका लागि हेरचाह तथा सरसफाइ गर्ने कर्मचारीको  व्यवस्था गरिएको छ । 
  
  अध्यक्ष गुरुङले भने, “यहाँको तोप कहाँ छ, त्यसका बारेमा खोजी भइरहेको छ, नेपाली सेना र पुरातत्व विभागसँग यसबारे कुराकानी भइरहेको छ, तोप जहाँ भए पनि हामी गढीमै फर्काउँछौँ ।” 

  स्थानीयवासी नवीन गुरुङले पनि पछिल्लो केही वर्षयता आन्तरिक पर्यटकको आगमन बढेको बताए ।  उनले भने, “यहाँ विशेष गरेर आन्तरिक पर्यटकको आगमन बढेको छ,  सार्वजनिक बिदा, शुक्रबार र शनिबार यहाँका होमस्टे भरिभराउ हुन्छन् ।” इतिहासमा उल्लेख भएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीँबाटै सञ्चालन हुन्थ्यो । सन् १९६० को सुरुसम्म उपर्दाङ्गढी चितवनको सदरमुकाम थियो । तल्कालीन बाइसेचौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा सत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुवा र दुईकोठे घर छन् ।
  
 यहाँबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाङटाङ, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र देखिन्छन् । गढी वरपर चेपाङ, मगर र गुरुङ समुदायको बस्ती छ । पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपर्दाङ्गढी, इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, सिराइँचुली, जलवीरे झरना र एकीकृत पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइने अध्यक्ष गुरुङले बताए । पूर्वाधार  निर्माणसँगै यहाँ पर्यटकको आवागमन वृद्धि भएको अध्यक्ष गुरुङको भनाइ थियो ।  रासस

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update