Mero Chitwan
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि  ‘मिनी म्याराथन’ गर्ने

चितवन : रोटरी क्लब अफ रत्ननगरले यहाँको समग्र पर्यटन प्रवर्द्धन गर्न ‘मिनी म्याराथन’ आयोजना गर्ने भएको छ ।

आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी म्याराथन महिला र पुरुष गरी दुई समूहमा गर्न लागिएको जनाएको हो । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो ।

कार्यक्रम संयोजक विपीन पोखरेलले १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता र पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता हुने जानकारी दिए । १४ दशमलव पाँच किमीको खुला प्रतियोगिता नारायणी नदी किनारबाट सुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दूरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको जङ्गल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ । 

प्रतियोगितामा राष्ट्रिय धावक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकसमेतको सहभागिता रहने उनले जानकारी दिए । साथै सिमान्तकृत चेपाङ समुदायका धावकलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ छ ।

  प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाको पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यबाट यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो । 

  रोटरी डिस्ट्रिक तीन हजार दुई सय ९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५ दशमलव पाँच किमीतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १० हजार, पाँचौँ हुनेलाई  पाँच हजार र छैटौँदेखि १०औँ सम्मलाई तीन हजारसहित प्रमाणपत्र वितरण गरिनेछ । 

दूरी पूरा गर्ने सबै चेपाङलाई दुई हजार पुरस्कारको व्यवस्था रहेको छ । यसैगरी पाँच किमी महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई पाँच हजार, चौथो हुनेलाई तीन हजार, पाँचौँ हुनेलाई दुई हजार पाँच सय, छैटौँदेखि १०औँलाई  एक हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । दूरी पूरा गर्ने महिला चेपाङलाई एक हजार प्रदान गरिने उनले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update