
चितवन : रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) ले यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिभल गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा रेवानले प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिभल’ आयोजना गर्न लागेको जनाएको हो ।
सौराहासहित चितवनको पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्रणय दिवसको अवसर पारेर फेस्टिबल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनका अनुसार फेस्टिभल आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।
खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिभललाई विशेष बनाउने तयारी गरिएको गिरीले बताए । उनले भने, “सौराहा फुड फेस्टिभलकोे आफ्नै गौरवमय इतिहास छ । हरेक वर्ष प्रणय दिवसको अवसरमा फेस्टिभल आयोजना गरिँदै आइएको छ ।”
फेस्टिभलमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले कालन्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने रेवानका अध्यक्ष गिरीको भनाइ छ ।
यहाँको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी फेस्टिभलका गतिविधिलाई अगाडि बढाइने संयोजक सूर्यबहादुर रिमालले बताए । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले पर्यटन मार्गको सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको उनले बताए ।
दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टिभलमा रु ६० लाख अनुमानित खर्च हुने र रु तीन करोड कारोबार हुने अनुमान गरिएको छ ।