Mero Chitwan
चीनलाई टक्कर दिन दक्षिण एसियामा आर्थिक सहयोगको कूटनीति अपनाउँदै भारत 

काठमाडौं–चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत् दक्षिण एसियाली देशहरूमा प्रभाव बिस्तार गर्दैछ । यस्तो अवस्थामा चीनको प्रभाव कम गर्न भारतले पनि दक्षिण एसियाली मुलुकमा आर्थिक सहयोगको रणनीति अपनाएको छ । 
यही कारणले गर्दा भारतले भुटान र नेपालदेखि म्यानमार र माल्दिभ्ससम्मका देशहरूमा अर्बौं रुपैयाँ खर्च गर्छ।

थाहा पाऔं भारतले कुन मुलुकमा कति सहयोग गर्छ –

भुटान : भुटान लामो समयदेखि भारतको सुरक्षा छाताअन्तर्गत रहँदै आएको छ । तर चीनसँगको सीमा विवाद समाधानका लागि वार्ता अन्तिम चरणमा पुगेपछि पछिल्लो समय भारतले भुटान चीनको नजिक पुगेको विश्लेषण गर्न थालेको छ ।  यहीकारण भारतले सबैभन्दा बढी सहयोग गर्ने देश भुटान बनेको छ । यस वर्ष भारतले भुटानका लागि दुई हजार करोड अर्थात् २ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ । 

नेपाल : भुटानपछि भारतले सबैभन्दा बढी सहयोग गर्ने देश नेपाल हो । गत वर्ष भारतले नेपालमा ६५० करोड  रुपैयाँ खर्च गरेको थियो भने यस वर्ष ७०० करोड रुपैयाँ खर्च गर्ने भएको छ । पछिल्ला केही वर्षयता नेपालमा चीनको हस्तक्षेप बढेको आकलन गर्दै भारतले सहयोग बढाएको हो । 

 बंगलादेश: भारतको सबैभन्दा राम्रो छिमेकी मानिन्छ बंगलादेश । सन् २००९ देखि त्यहाँ शेख हसिनाको नेतृत्वमा अवामी लिग पार्टीको सरकार छ, जसलाई 'भारत समर्थक' मानिन्छ। तर त्यहाँको अर्थतन्त्र पनि खस्कँदै गएको छ र त्यसलाई सहयोग गर्न चीन अगाडि आएको छ । चीनले भर्खरै आफ्नो विदेशी मुद्रा सञ्चितिको संकटमा बंगलादेशको साथमा रहेको बताएको थियो। बंगलादेश पनि  बीआरआइको सदस्य हो। भारतले यस वर्ष बंगलादेशमा १२० करोड रुपैयाँ खर्च गर्नेछ। यो गत वर्षको तुलनामा १० करोड कम हो । 

म्यानमार: म्यानमार २०१७ देखि चीनको बीआरआई को सदस्य हो। म्यानमारमा पनि चीनको ऋण बढ्दै गएको छ । यति मात्र होइन, म्यानमारको राजनीति र अर्थतन्त्रमा पनि चीनको हस्तक्षेप बढेको छ । म्यानमारमा तीन वर्षदेखि सेनाले सरकार चलाउँदै आएको छ । यस अवधिमा चीनसँग उसको निकटता थप बढेको छ । चीनलाई टक्कर दिन भारतले त्यहाँ पनि वर्षेनी करोडौं रुपैयाँ खर्च गर्छ । यो वर्ष भारतले म्यानमारका लागि २५० करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । 

श्रीलंका: महिन्दा राजपाक्षेको सरकारको समयमा, श्रीलंका चीनको धेरै नजिक पुगेको थियो। श्रीलंका पनि बीआरआईको सदस्य हो। भारतले २०२२-२३ मा श्रीलंकाका लागि १५० करोड रुपैयाँ सहयोग  गरेको थियो तर ६० करोड मात्र खर्च गरेको थियो। यो वर्ष भारतले श्रीलंकाका लागि ७५ करोड रुपैयाँ राखेको छ ।

अफगानिस्तान: भारतले यहाँ धेरै परियोजनाहरूमा काम गरिरहेको छ। तालिबान शासन आए पनि भारत यसबाट टाढिएको छैन। र अफगानिस्तानलाई दिने सहायतामा धेरै कटौती गरेको छैन। भारतले २०२३-२४ मा अफगानिस्तानमा २२० करोड रुपैयाँ खर्च गरेको छ भने २०२४-२५ मा २०० करोड रुपैयाँ बजेट राखेको छ।

भारतले माल्दिभ्सलाई दिने सहयोग भने कटौती गरेको छ । मोहम्मद मुइज्जु राष्ट्रपति बनेपछि भारत र माल्दिभ्सबीचको सम्बन्ध तनावपूर्ण भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणपछि माल्दिभ्स सरकारका तीन मन्त्रीले प्रधानमन्त्री मोदी र भारतविरुद्ध टिप्पणी गरेपछि कटुता तनावपूर्ण बन्यो ।  

गत बिहीबार अर्थमन्त्री निर्मला सीतारमणले पेश गरेको २०२४-२५ को अन्तरिम बजेटमा भारतले धेरै देशलाई दिएको आर्थिक सहयोगमा कटौती गरिएको छ । बजेट दस्तावेजका अनुसार भारतले २०२४-२५ मा अन्य देशलाई ४ हजार ८ सय ८३ करोड रुपैयाँभन्दा बढीको सहायता उपलब्ध गराउने छ । यद्यपि यो २०२३-२४ को तुलनामा १० प्रतिशत कम हो। 

भारत सरकारले २०२३-२४ को बजेट प्रस्तुत गर्दा माल्दिभ्सका लागि ४ सय करोड रुपैयाँ राखिएको थियो । तर यस वर्ष २०२४-२५ को अन्तरिम बजेट आउँदा त्यसमा २०२३-२४ को संशोधित अनुमान पनि दिइएको थियो । यस अनुसार सरकारले २०२४-२५ मा मालदिभ्समा ७७० करोड रुपैयाँ खर्च गरेको छ । 

यो पैसा कहाँ खर्च हुन्छ ?
भारतले भुटान, अफगानिस्तान, बंगलादेश र म्यानमारलाई दिँदै आएको आर्थिक सहायता पनि कटौती गरेको छ । भारतले भुटानलाई सबैभन्दा बढी सहयोग गरेको छ । भारतले भुटानमा २०२३-२४ मा करिब २४ सय करोड रुपैयाँ खर्च गरेको थियो। यस वर्ष २ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यदि हेर्ने हो भने, भारतले लामो समयदेखि पाकिस्तान बाहेक सबै दक्षिण एसियाली देशलाई आर्थिक सहयोग गर्दै आएको छ । भारतबाट आएको यो सहयोग ती मुलुकका पूर्वाधारमा खर्च हुन्छ । यसबाट त्यहाँ विद्यालय, कलेज, अस्पताल, सडक, पुल, रेल सञ्जाल आदि निर्माण हुन्छन् । 
एनडीए सरकारले ‘छिमेकी पहिलो नीति’ मार्फत छिमेकीलाई आफूसँग राख्न खोजेको छ । यसको कारण पनि चीन नै हो । 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update