Mero Chitwan
सिमसार दिवसमा बिसहजारी तालको सरसफाइ

चितवन : विश्व सिमसार दिवसका अवसरमा शुक्रबार रामसार क्षेत्रमा सूचीकृत बिसहजारी तालको सरसफाइ गरिएको छ ।   

चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा बिसहजारी तालको सरसफाइ तथा अन्तर्क्रियासहित दिवस मनाइएको हो ।

सो अवसरमा तालमा जलकुम्भी फाल्ने, वरपर सफाईदेखि फोहोरसमेत व्यवस्थापन गरिएको निकुञ्जका सरक्षण अधिकृत एवम् बिसहजारी ताल संरक्षण समितिका अध्यक्ष गणेशप्रसाद तिवारीले जानकारी दिए । जैविक विविधता संरक्षणमा निकै महत्व रहेको यस ताल सबैको आकर्षणको केन्द्र भएको र यहाँ विदेशीदेखि समेत मौसमी चरासमेत आउने भएकाले यसको संरक्षणसँगै सरसफाई आवश्यक रहेको तिवारीले बताए ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरे ताल वरपर सरसफाइ गरी संरक्षणकर्मीमा तालको महत्वबारे बुझाइएको बताए । उनले भने, ‘यस्तो कार्यक्रमले संरक्षणकर्मीहरुले तालको महत्वबारे बुझ्ने अवसर पाए भने अर्कोतर्फ ताल वरपर सरसफाइ पनि भयो ।’ 

चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । यस तालको कूल क्षेत्रफल पाँच हजार ७८१ हेक्टर छ। बिस हजारी ताल विश्व रामसार सूचीमा सूचीकृत भएको प्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँ तालमा रहेका गोही, वरिपरिको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीले पर्यटकको मन तान्ने गर्दछ ।

तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैँडा, जरायो पाइन्छन् । जङ्गली जनावरका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रयस्थल यस तालमा गोही, माछा, अजिङ्गरसमेत पाइन्छ । त्यसैगरी गैँडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ ।

ताल वरपर २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा रहेको तथ्याङ्क छ । वि.सं २०२२ मा पूर्वी चितवनबाट ल्याइएको नहरका कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामकरण गरिएको हो ।

त्यस्तै खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दूरी २० हजार फिट रहेको हुँदा पनि यसलाई बीस हजारी ताल भनिएको भन्ने भनाइ छ । तालमा भएको जलकुम्भी तथा काँडेझार हटाई संरक्षण गर्न सके नाइट सफारी केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने बताइएको छ ।

425495588_799536952213040_456583775010359707_n-1706880635.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update