
चितवन–सरकारले चितवनको भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्न सैद्धान्तिक सहमति दिएको छ । योसँगै भरतपुर विमानस्थल बिस्तारका लागि बाटो खुलेको छ ।
भरतपुर विमानस्थलको रनवे सानो हुँदा ठूला जहाज अवतरण हुन सक्दैनथ्यो । अब घोडा प्रजनन केन्द्रले प्रयोग गर्दै आएको १९ विगाहा जमिन विमास्थल बिस्तारमा प्रयोग गरिएपछि ठूला जहाज पनि अवतरण गर्नसक्ने बताइएको छ । भरतपुरमा अहिले १२ सय मिटर लामो र ३० मिटर चौडा रनवे छ भने बिस्तारपछि १५ सय मिटर लामो रनवे बन्नेछ ।
रनवे बिस्तारपछि ७२ सिटे एटिआर जाज पनि भरतपुर अवतरण गर्नसक्नेछन् भने रात्रिकालीन उडान पनि हुनेछ । घोडा प्रजनन केन्द्र सार्नेबारे निर्णय हुन नसक्दा १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलान्यास भएर काम अघि बढे पनि धावनमार्ग बिस्तार रोकिएको थियो ।
घोडा प्रजनन केन्द्र सार्नका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने भएको छ । भरतपुर मेयर रेनु दाहालले पहिलो कार्यकालदेखि नै घोडा प्रजनन केन्द्र सारेर विमानस्थल बिस्तारको प्रयास गर्दै आएकी थिइन् । उनले सरकारको यो निर्णय चितवनबासीकै लागि ऐतिहासिक क्षण भएको बताएकी छन् ।
सम्बन्धित समाचार
भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी