काठमाडौँ — नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आगामी जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको महासंघको बैठकले महासंघको पहिलो महाधिवेशन आगामी जेठ जेठ २६, २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशनका लागि 'संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन' भन्ने नारासमेत तय गरेको छ । केन्द्रीय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मको महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।
सोअनुसार ७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी बैठक मंसिर ३० गते हुनेछ । त्यसपछि पुस २१ गते वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ ।
त्यस्तै, माघ ६ गते पालिका अधिवेशन, माघ २१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र फागुन १९ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय भएको छ । महासंघले महाधिवेशनको प्रक्रिया अघि बढाउन ७७ वटै जिल्लामा प्रतिनिधिहरु खटाउने निर्णय समेत गरेको अध्यक्ष मगरले जानकारी दिए । बैठकले केन्द्रीय अध्यक्ष घर्तीमगरको संयोजकत्वमा १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।
संगठनलाई विस्तार र प्रशिक्षित गर्न केन्द्रीय सदस्य जगत बराम (गोरखा) लाई महासंघको विधान बमोजिम संगठन तथा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । बैठकले अधिवक्ता राम्जी कोङरेनको संयोजकत्वमा जगत बराम र दिनेश थापामगर सदस्य रहेको नियमावली मस्यौदा समितिले प्रस्तुत गरेको महासंघको नियमावली २०८० संशोधन सहित पारित गरेको छ ।