काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो ।
दक्षिण अफ्रिकाको ब्लोइम-फोटिन क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले १६९ रन बनायो । खराब सुरुआत गरेको नेपालले २९ रनमै ३ विकेट गुमाएको थियो । ओपनर विपिन रावल दुई रनमै पभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिजमा आएका आकाश त्रिपाठी पनि ३ रनमा आउट भए । ओपनर अर्जुन कुमाल १४ रनमा बाहिरिएका थिए । उनलाई रोशानट बोरसनले पभेलियन फर्काए । कप्तान देव खनालले विशालविक्रम केसीसँग ६२ रनको साझेदारी गर्दा नेपालको विकेट पतनको सिलसिला रोकिएको थियो । यो साझेदारीलाई विसन आलमले २८औं ओभरमा तोडेका थिए । त्यतिबेला कप्तान देव ३५ रन बनाएर आउट भए ।
त्यसपछि पुनः विकेट पतन हुन थालेको थियो । गुल्सन झा, दीपक बोहरा र दीपेश कँडेल तीन-तीन रन बनाएर आउट भए । विशालविक्रम केसी ४८ रनमा आउट हुँदा उनी अर्धशतक बनाउन दुई रनले असफल भए । अन्तिममा सुवास भण्डारीले १८ रनको योगदान दिए । एक बल बाँकी रहँदा नौ रन बनाएका दुर्गेश गुप्ता आउट भएपछि नेपालले सबै विकेट गुमाएको थियो ।
बंगलादेशका बोरसोनले चार तथा सेख जिबोनले तीन विकेट लिएका थिए । जवाफमा बंगलादेशले विस्फोटक सुरुआत गरेर पाँच विकेट बचाउँदै लक्ष्य पूरा गरेको हो । नेपाली बलरसामु खुलेर खेलिरहेका बंगलादेशी ब्याटरले ओपनिङमा ६७ रनको साझेदारी गरे । सुवासले असिकुर रहमानलाई १६ रनमा आउट गराए । अर्का ओपनर जिसन आलमले ५५ रनको योगदान दिए । चौथो नम्बरमा मैदान प्रवेश गरेका अरिफुल स्लामले इनिङलाई अन्तिमसम्म डोर्याएका थिए । उनी ५९ रनमा अविजित रहे ।
नेपालका सुवास भण्डारीले सबै पाँच विकेट लिएका थिए । नेपालले सुपर सिक्सको अन्तिम खेलमा पर्सि (शुक्रबार) भारतसँग खेल्नेछ ।