
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहेरिक-ए-इन्साफ पार्टी-पीटीआई प्रमुख इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । रावलपिण्डीस्थित विशेष अदालतले खानलाई सरकारी गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
हाल रावलपिण्डीस्थित अदियाला जेलमा रहेका खानलाई न्यायाधीश अब्दुल हस्नत जुल्कारनाइनले जेलमै स्थापना गरिएको विशेष अदालतमा सजाय सुनाएका हुन् । अदालतले यो मुद्दामा पूर्वविदेशमन्त्री शाह महमूद कुरेसीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ ।
आगामी फेब्रुअरी ८ मा हुने आमचुनावमा प्रतिस्पर्धा गर्न चाहिरहेका खानका लागि यो फैसला ठूलो झड्का मानिएको छ । अब दुवै नेताका लागि १० वर्षसम्म चुनाव लड्ने बाटो बन्द भएको छ । यद्यपि उनीहरु सामु फैसलाविरुद्ध माथिल्लो अदालत जाने विकल्प छ ।
इमरान खानमाथि सरकारी गोप्य जानकारी निजी प्रयोगमा ल्याएको आरोप छ । खानले आफू सत्ताबाट हट्नुमा अमेरिकाको हात रहेको आरोप लगाउँदै वाशिङटनस्थित पाकिस्तानी दूतावासले आफूलाई गोप्य जानकारी पठाएको बताएका थिए । उनले आफ्नो राजनीतिक फाइदाका लागि विवादित कूटनीतिज्ञसँगको वार्ता सार्वजनिक गरेको आरोप लागेको थियो, जसलाई सिफर मुद्दा भनिएको थियो ।