Mero Chitwan
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु

चितवन : पवित्र तीर्थस्थल देवघाटधाममा चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिमपूर्ण बनेको छ । मानिस ओहोरदोहोर गर्नका लागि बनाइएको यो पुलमा मोटरसाइकल कुदाउन थालेपछि जोखिममा परेको हो ।

हरेक वर्ष पुलको मर्मतसम्भार गर्ने गरिन्छ । सामान्यतया मानिस मात्रै हिँडेको अवस्थामा पुलको आयु ५० वर्ष हुने गर्दछ । सस्पेन्सन ब्रिज डिभिजनका सब इञ्जिनीयर गोपालबहादुर थापा पुलमा चाप बढी भएकाले ४४ वर्षअघि बनेको यो पुल जोखिममा रहेको बताउछन् ।

त आठ वर्षदेखि यो पुलको मर्मतको नेतृत्व गरेका थापाको भनाइमा तत्काल नयाँ पुल बनाउनुको विकल्प छैन । पुलको चितवनतर्फका भागमा फलामको टेका लगाएर लठ्ठा अड्याइएको भन्दै उनले एकपटकमा एक सय जनाभन्दा बढी आवतजावत गर्न रोक लगाइएको बताए । उनका अनुसार पुल नयाँ हुँदै गर्दा एकपटकमा सात सय जनासम्म यात्रा गर्न मिल्ने गरी बनाइएको थियो ।

दुइ सय ४० मिटर लामो झोलुङ्गे पुलको डिजाइन भइसकेको छ । सोही ठाउँमा पुल बनाउँदा पुरै बाटो अवरुद्ध हुने भएकाले निर्णय लिन नसकिएको उल्लेख गर्दै उनले वैकल्पिक उपयुक्त ठाउँ नभेटिएकाले काम हुन नसकेको बताए । 

नेपालमा सबैभन्दा बढी मानिस आवतजावत गर्ने झोलुङ्गे पुलमा यो पर्ने भन्दै उनले तत्काल नयाँ बनाउनु पर्नेमा जोड दिए । पुल जोखिममै भएका कारण हरेक वर्ष मर्मत हुँदै आएको छ । 

गत शुक्रबारदेखि  बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम सम्पन्न गर्ने थापाले जानकारी दिए ।

पवित्र तीर्थस्थल देवघाट प्रवेश गर्ने मुख्य मार्गमा यो पुल पर्दछ । विकल्पमा दासढुंगा पक्की पुल बनेको छ । ठिमुरामा नयाँ पुल सञ्चालनमा आउने तयारीमा छ । यद्यपी यो पुल नै सबैका लागि पायक पर्दछ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update