Mero Chitwan
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना  : रेनु दाहाल

चितवन  : भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् । 
'भरतपुर भ्रमण वर्ष २०२४' का विषयमा होटल व्यवसायीसँग सोमबार आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् । 

‘भरतपुरमा अहिले पनि पर्यटक आईरहनु भएको छ,'उनले भनिन्,‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुदैछ ।’

भ्रमण वर्षका लागि महानगरपालिकाले एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाँड्ने काम गरिसकेको छ ।

renu-dahal1-1706546925.jpg

भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन् । 
भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताइन् । 

भरतपुरमा जीप सफारी, जङ्गल सफारी ,डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको दाहालको भनाइ छ । 

भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुँदा ठूलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताइन् । उनले भ्रमण वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न आग्रह पनि गरिन् । 

कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए । उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्ष्ति गरी विषेश अफर ल्याउने उल्लेख गरे । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update