चितवन : चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे ।
आउँदो शनिबारबाट क्याम्प सुरु गर्ने क्रिकेट संघका अध्यक्ष पियाले जानकारी दिए ।
आठ वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई क्याम्पमा सामेल गराइने पियाले बताए । उनीहरुलाई क्रिकेटका अनुभवी कोचले प्रशिक्षण दिने छन् । बलिङ मेशिन पनि ल्याएर प्रशिक्षण दिन लागेको पियाको भनाइ छ ।
शनिबार र अन्य सार्वजनिक विदाको दिन पारेर प्रशिक्षण हुने छ । दिनको तीन घण्टाको दरले आठ दिनसम्म प्रशिक्षण दिने चितवन क्रिकेट संघले जनाएको छ ।
‘‘५० जनाको हाराहारीमा विद्यार्थी क्याम्पमा सामेल हुने सम्भावना छ । विद्यालय तहबाटै क्रिकेट बारे बुझाउँदै अनुभवी र प्रोफेशनल कोचले सिकाउने यो साम्रो अवसर हो । शुल्क सहुलियत पुर्ण नै छ । हामीले बीमासहित एक हजार ७५९ रुपैयाँ क्याम्प शुल्क लिने भएका छौं, चितवन क्रिकेट संघका अध्यक्ष पियाले भने ।
कास्सी स्पोर्टस्मा फुटशल, क्रिकशल र स्वीमङि पुल लगायतका पुर्वाधारहरु उपलब्ध छन् ।
‘हामीसँग मापदण्ड अनुसारका इन्डोर क्रिकेट र फुटशलका पुर्वाधारहरु छन् । चितवनमा क्रिकेटको महौंल बढ्दो छ । राम्रा खेलाडीहरु उत्पादन गर्नु पर्ने खाँचो छ । क्रिकेट सानैबाट सिक्दै अगाडी बढ्दा भोलि राम्रो खेलाडी बनेर देशका लागि योगदान गर्न पाइने अवसर पनि छ । त्यसैले चितवन क्रिकेट संघँग सहकार्य गरेका हौं, कास्सी स्पोर्टसका इन्जिनियर गोविन्द लामिछानेले भने ।