Mero Chitwan
बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क शववाहन सेवा  सुरु

चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालमा आज (आइतवार) देखि निःशुल्क शव वाहन सेवा सुरु गरिएको छ । रत्ननगरका जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले रत्ननगर नगरपालिका र बकुलहर रत्ननगर अस्पतालद्वारा संयुक्त रुपमा शव वाहन सेवा सुरु गरिएको हो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले अस्पतालमा आइतवारदेखि नै लागू हुने गरी निःशुल्क शव वाहन सेवा सुरु गरिएको जानकारी दिए । उद्घाटन कार्यक्रममा रत्ननगरका सामाजिक विकाश समितिका संयोजक तथा वडा नं। ५ वडा अध्यक्ष बालकृष्ण चापागाईले आपतबिपतको समयमा महंगो शुल्क कसरी तिर्ने पिरोलिरहेको समयमा शव वाहनले रत्ननगरका जनतालाई धेरै राहत प्रदान गर्ने बताए ।

नगर स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको शव वाहनको सम्पूर्ण व्यवस्थापन खर्च रत्ननगर नगरपालिकाले बेहोर्ने जानकारी दिए । शव वाहनको लागि नगरले वार्षिक रु ५ लाख रुपैँया छुट्याएको उनले बताए ।

नगर भित्रका नागरिकलाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले शव वाहन सेवा शुभारम्भ गरिएको भए पनि नगर भन्दा बाहिरकाले प्रयोग गरेमा केही रकम शुल्क लाग्नेछ ।  त्यसबाट आएको रकम नागरिक सहायता कोषमा नै जम्मा हुनेछ  ।

 अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कर्माचायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं ७ का वडाध्यक्ष सजना महतो, ९ का वडा अध्यक्ष अनन्त अधिकारी, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे, अस्पतालका डाक्टर तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । अस्पतालका जनस्वास्थ्य निरीक्षक रामचन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका मेसु डा मदन ज्ञवालीले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update