Mero Chitwan
दियालो बंगला खुला गर्ने तयारी :  मर्मतका लागि नेपाल ट्रष्टले खुलायो टेण्डर

चितवन–भरतपुर महानगरपालिकास्थित दियालो बंगला सर्वसाधारणका लागि खुला गराउनका लागि तयारी अघि बढेको छ । 

नेपाल ट्रष्टले दरबार तथा परिसरको मर्मत तथा स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको हो । हाल ट्रष्टको स्वामित्वका रुपमा रहेको दियालो बंगलालाई भरतपुर महानगरले  संग्रहालयका रुपमा सञ्चालनमा ल्याउनेछ । दरबारलाई भरतपुर भ्रमणका वर्षका अवसरमा सर्वसाधारणका लागि खुला गर्ने तयारी छ । 

dd-1706374861.jpg

महानगर प्रमुख रेनु दाहालको पहलपछि दरबार सर्वसाधारणका लागि खुला गरिने लागेको हो । 

भरतपुर महानगरपालिका-१ आापटारीस्थित ५२ विघा क्षेत्रफलमा रहेको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाएका थिए । २०२८ सालमा राजा महेन्द्रको यही बंगलामा निधन भयो । त्यसपछि दुई राजा वीरेन्द्र र ज्ञानेन्द्रले बंगलाको प्रयोग गरे । अन्तिम पटक २०६१ असोजमा राजा ज्ञानेन्द्र यस बंगलामा रात बसेका थिए । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्यसंगै यो बंगला प्रयोगविहीन छ ।

भरतपुर महानगरले बंगला खुलाउन पत्राचार गरेपछि भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर नेपाल ट्रष्टको ७८ औं सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको प्रमुख दाहालले जानकारी दिइन् ।

यस बंगलामा जाडो छल्न आउने राजपरिवार नारायणी नदी क्षेत्र घुम्ने, सिकार गर्ने गर्दथे । यस बंगलामा राजाले प्रयोग गर्ने खाट, खाना पकाउने, सिकार गर्ने, क्याम्प गर्ने संरचनाहरू छन् । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि 'नानीगञ्ज' छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वार्टर पनि छ । ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल र चेन्जिङ रुम पनि छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update