
काठमाडौं- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ। बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ।
सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापित अम्बरसिंह पुनले जनाएका छन्। सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेस गर्ने गरी छलफल हुने पुनले बताएका छन्।
सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७५० बढी सम्मेलनमा सहभागी हुने जनाइएको छ।