Mero Chitwan
भरतपुर महानगर  बालबालिकाको क्षेत्रमा  संवेदनशील छ : प्रमुख रेनु दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् । महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय तथा पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ छ । 

यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुलसँग सम्झौता गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने पनि उनले बताइन् । दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपालले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति प्रशंसा  गरिन् ।

महानगरपालिकाले उक्त अभियानलाई ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आईरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ बालबालिका आश्रित छन् ।भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् । 

कार्यक्रममा प्रहरी  महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरु विश्वमै संवेदनशील र जोखिममध्येको समूहमा पर्ने बताए । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धजस्ता कारण सधैं उच्च जोखिममा हुने र हिंसा तथा दूर्व्यवहार सहन बाध्य हुने गरेको उल्लेख गर्दै उनले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको बताए । 

कार्यक्रममा प्रहरी नागरिक साझेदारी अभियान नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष निर्देश सेढाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए  । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update