Mero Chitwan
भरतपुर क्यान्सर अस्पतालको सार्वजनिक सुनुवाइ : सेवाग्राहीका गुनासै-गुनासा

चितवन–सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ ले कुनै पनि सरकारी कार्यालयले चार महिनामा कम्तीमा पनि एक पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भरतपुरमा २०५७ सालमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ३२ वर्षको इतिहासमा जम्मा २ पटकमात्र सार्वजनिक सुनुवाइ गर्‍यो । पहिलो २०६७ सालमा र दोस्रो २०८० माघ १२ अर्थात् शुक्रबार ।

गत भदौ १२ गते अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा शिवजी पौडेल नियुक्त भएपछि सुनुवाइ गरिएको हो । भ्रष्टाचारविरुद्ध अभियान चितवनले समन्वय तथा सहजीकरण गरेको उक्त कार्यक्रममा अस्पतालका नयाँ पदाधिकारी आएपछि पनि सेवाग्राहीले अपेक्षा गरेअनुरुपको प्रगति अस्पतालले गर्न नसकेकोलगायतका गुनासै गुनासा सेवाग्राहीले राखे । 

कार्यक्रममा भ्रष्टाचारविरुद्ध अभियानकी सह–सचिव रिता कंडेलले अस्पतालमा सेवा लिन र सेवा लिएर फर्किएका सय जनालाई प्रश्नावली भरेर तयार पारेको रिपोर्ट प्रस्तुत गरेकी थिइन् । रिपोर्टमा उल्लेख भए अनुसार सय जनाले नै उपचारका क्रममा कम्तीमा एक घण्टा भन्दा बढी समय लाईनमा उभिनु परेको बताएका थिए । 

८० प्रतिशत सेवाग्राही अस्पतालका कर्मचारी, डाक्टर र नर्सको व्यवहारप्रति र ७५ प्रतिशत विरामी अस्पतालले दिने सेवाप्रति असन्तुष्ट रहेको रिपोर्टमा उल्लेख छ । क्यान्सर अस्पतालले नि:शुल्क वितरण गर्ने औषधिका बारेमा ८० प्रतिशत सेवाग्राही जानकार छैनन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले अस्पतालका कर्मचारी र डाक्टरहरुको लागि भनेर बनाईएका आवासीय भवन अनधिकृत व्यक्तिले कब्जा गरेको बताए ।

जलदेवी टोलका दिपक ढकालले अस्पतालभित्रको फार्मेसीमा बीमाको औषधि नपाएपछि अस्पताल बाहिरको फार्मेसीमा महङ्गोमा किन्न बाध्य भएको बताए । अस्पतालको फार्मेसीमा औषधि नराखेर बाहिर पठाउने प्रचलनको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 

भरतपुर–४ का शालिकराम शर्माले अस्पतालभित्रै पाउनुपर्ने उपचारका लागि बाहिर धाउनुपर्ने समस्याका बारेमा प्रश्न गरेका थिए । भरतपुर–१० का हरिप्रसाद न्यौपानेले क्यान्टिनमा सुधार नभएको गुनासो पोखे ।

यस्तै हेमन्त बरालले अस्पतालबारे जानकारी नभएका सेवाग्राहीलाई कठिनाई भएको गुनासो गरे । ‘सेवाग्राहीलाई सहज गराउन सामान्य जानकारी दिन सोधपुछ कक्ष हुनु आवश्यक छ , उनले भने ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सेवाग्राहीको सहज पहुँचको लागि प्रयत्न गरिरहेको बताए । उनले अस्पतालमा भएका आवासीय भवनमा ३४ वटा कोठा खाली भइसकेकाले आगामी हप्ता आवश्यकताका आधारमा कोठा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो सुनेपछि अस्पतालमा मुस्कानसहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

कमिसनको पछि लाग्ने कर्मचारीलाई अस्पताल छाडेर जाने वातावरण बनाउने उनले प्रतिबद्दता जनाए । पेट्रोल, होटल र मदिराको बिल अस्पतालले भुक्तानी गरेको भन्ने सन्दर्भमा जवाफ दिँदै डा पौडेलले भने, ‘अनियमितता हामीबाट हुँदैन, अनियमितता जुन दिन हुन्छ त्यो दिन म अस्पतालमा बस्न लायक हुन्न ।’

नागरिक रिपोर्टबारे डा पौडलले भने, ‘रिपोर्ट कार्ड यसपटक फेल भयो, फाइनलमा डिस्टिङ्सन ल्याएर तपाईहरुलाई देखाउँछौ ।’ 

अस्पतालमा नागरिक वडापत्र, गुनासो पेटिका, अपरेसन थियटरबाहिर पिउने पानी तथा बस्ने स्थानको व्यवस्थापन, अस्पतालका विभिन्न स्थानमा चार्जिङ स्टेशनको व्यवस्था, कार्डियोलोजी सेवाको सुरुवात, अस्पताल फार्मेसिमा अधिकांश औषधि उपलब्ध र रोकिएको पदपूर्ति गरिएको डा पौडेलले बताए ।

उनले चिनियाँ सरकारको सहयोगमा बन्ने ‘बोन म्यारो ट्रान्स्प्लाण्ट सेन्टर’का लागि प्रारम्भिक अध्ययन समेत सुरु भएको जानकारी दिए । 

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री लि फिङबीच सम्झौता भई अस्पताल स्थापना भएको थियो जसको २०५७ सालमा कोइरालाले नै औपचारिक उद्घाटन गरेका थिए । 

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update