Mero Chitwan
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु

चितवन–भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

कार्यक्रमको पहिलो संस्करणका रुपमा शुक्रबार भरतपुर २७मा रहेको जानकी माविका विद्यार्थीसँग नगरप्रमुख रेनु दाहालले साक्षात्कार गरिन् । सो अवसरमा दाहालले कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समाधान गर्न सकिने बताइन् । विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । 

विद्यार्थीहरुले विद्यालयमा भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याइएको गुनासो गरेका थिए । 

नगरका विद्यालयको वास्तविक अवस्था,पढाईको स्तर तथा समग्र शैक्षिक अवस्था बारे बुझ्ने र सुधारका बाटो पहिल्याउने उद्धेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको भरतपुर महानगरले जनाएको छ । ‘विद्यार्थीसँग मेयर कार्यक्रम’ अन्तर्गत नगर शिक्षा अधिकारीसहित विद्यालयमा पुगेर पहिलो सत्रमा विद्यार्थीसँग र दोस्रो सत्रमा विद्यालयका शिक्षक र अभिभावकसँगको सत्र सञ्चालन गर्ने गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update