
चितवन : चितवनका एक ज्येष्ठ नागरिकले आफनो चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च रु तीन लाख ६५ हजार केन्द्रका सञ्चालक समितिका सदस्य हरि सिलवाललाई हस्तान्तरण गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पौडेल परिवारले एक औपचारिक कार्यक्रम गरेको थियो । तामझाम र रूढिवादी संस्कृतिबाट टाढा हुनुपर्ने सन्देशसहित ८४ पूजाको खर्च केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
पौडेलले नयाँ खोज, अनुसन्धान र आविष्कारका लागि सहयोग होस् भनेर चौरासी पूजाको खर्च आविष्कार केन्द्रलाई प्रदान गरेको बताए। लेखक खगेन्द्र सङ्ग्रौलाले समय क्रमसँगै संस्कृतिप्रति सबै कालखण्डमा विश्वास नरहन सक्ने बताए । धर्म र संस्कृतिका नाममा परम्परादेखि चलिआएको अन्धविश्वास, विभेद, खर्चिलोपन, ढोङ, पाखण्डलाई मान्नुपर्छ भन्ने आवश्यकता नभएको बताए ।
पौडेलका ज्वाइँ प्रेम रिमालले संस्कृतिलाई पच्छ्याउने नाममा पछौटेपनलाई अङ्गाल्नु नहुने भन्दै तडकभडक छाडेर यो कार्यक्रमको आयोजना गरिएको बताए। राष्ट्रिय आविष्कार केन्द्रका सिलवालले सामाजिक दबाब नपर्नेगरी सिर्जनशील काम गर्नु सामाजिक अन्वेषण रहेको बताए । यहाँबाट आएको सहयोगबाट केन्द्रले ऊर्जा प्राप्त गर्ने उन्को भनाइ थियो ।
पौडेल परिवारले कार्यक्रममा आउनेलाई दक्षिणा, भेटी नल्याउन आग्रह गरेको थियो । कार्यक्रमस्थलमा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न दानपेटिका राखिएको थियो । त्यसमा सङ्कलन भएको रकम पनि सबै केन्द्रलाई प्रदान गरिएको थियो । सो अवसरमा पूर्वमन्त्री विक्रम पाण्डे, नेकपा एमालेका नेता विजय सुवेदी, नेकपा माओवादीका नेता रामचन्द्र अधिकारी, बागमती प्रदेशसभा सदस्य ईश्वर सापकोटा, साहित्यकारहरु डिआर पोख्रेल, इन्द्रप्रसाद रेग्मीलगायतले पौडेल दम्पतीलाई शुभकामना दिएका थिए । पौडेलका छोरा सुदर्शन र बुहारी गायत्री पौडेलले चौरासी पूजाका अवसरमा बुबाआमालाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।