
काठमाडौं । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । सातै प्रदेशका मुकाममा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
यो निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । जसमा सातै प्रदेशका ५४९ प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका एक हजार ४९८ प्रमुख तथा उपप्रमुख गरी दुई हजार ४७ मतदाता छन् ।
प्रतिप्रदेश सभा सदस्यको मतभार ५३ र प्रतिस्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ । प्रदेशसभाका सम्पूर्ण सदस्यको मतभार २९ हजार ९७ हुन्छ भने स्थानीय तहका मतदाताको २८ हजार ४६२ मतभार छ । यसरी जम्मा कुल मतदाताको मतभार ५७ हजार ५५९ छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यमध्ये कोशी र मधेशमा दुई/दुई तथा बागमतीमा ४ सदस्य चयनका लागि मतदान हुनेछ । त्यस्तै गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णाली र सुदूरपश्चिममा तीन-तीन सदस्यका लागि मतदान हुनेछ । रिक्त हुनेमध्ये एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका एक र स्वतन्त्र एक छन् । उनीहरुको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ । कार्यकाल सकिनु ३५ दिनअगावै नयाँ सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन गर्न लागिएको हो ।
कोशीमा राप्रपा-एमालेको तालमेल
यसैबीच कोशी प्रदेशमा पनि निर्वाचनको सबै तयारी पूरा भएको छ । कोशीमा ९३ जना प्रदेश सभा सदस्य र २७४ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३६७ जना मतदाता छन् । अन्यतर्फ एकजना र महिलातर्फ एकजना गरी दुई सिटका लागि पाँचजना चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि एमालेले अन्यतर्फका आफ्ना उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएको छ ।
तालमेलपछि एमालेले अन्यतर्फका राप्रपा उम्मेदवार उद्धव पौडेललाई एमालेले सहयोग गर्नेछ भने महिलातर्फकी एमाले उम्मेद्वार रुक्मिणी कोइरालालाई राप्रपाले सहयोग गर्ने सहमति भएको छ । उम्मेद्वारी फिर्ताको समय सकिएपछि राप्रपा र एमालेबीच तालमेल भएकाले अधिकारीको उम्मेद्वारी कायम भएको हो ।
कोशीमा एमालेको चार हजार २४८ र राप्रपाको ३९४ गरी चार हजार ६४२ मतभार छ । त्यस्तै सत्ता गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र अन्यतर्फ नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्की प्रतिस्पर्धामा छन् । कांग्रेसको तीन हजार ६८४, माओवादी केन्द्रको एक हजार २७८, नेकपा एकीकृत समाजवादीको ३४५ र जसपाको १२९ गरी पाँच हजार ४३६ मतभार छ । स्वतन्त्रको ५७ मतभार छ ।
लुम्बिनीमा २ सिट, ६ उम्मेद्वार
लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि ६ जनाको उम्मेद्वार चुनावी मैदानमा छन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले जनाए ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३०५ जना मतदाता छन् । अन्यतर्फ एकजना र महिलातर्फ एक गरी दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
गठबन्धनका तर्फबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरिले प्रतिस्पर्धा गर्दै छन् ।
बागमतीमा १५ जनाको उम्मेद्वारी
यसैगरी बागमती प्रदेशमा पनि निर्वाचनको सबै तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए । हेटौंडा ४ स्थित भुटनदेवी माविको एफ ब्लकमा मतदान हुनेछ ।
मतदान केन्द्रमा अधिकृतसहित १०/१० जना गरी २० कर्मचारी खटाइनेछन् । निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदान केन्द्रका अनुसार मतपत्रको रङ पनि फरक रहनेछ । निर्वाचनका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार/चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एक/एक गरी १५ जनाले उम्मेद्वारी दिएका छन् । मतदान बिहान ९ बजेबाट सुरु भई दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
मतदान सकिएलगत्तै मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।