Mero Chitwan
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति

काठमाडौँ — जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

अध्यक्ष सीके राउतले नयाँ सदस्यता वितरण, नवीकरण, प्रशिक्षणसहित वडा अधिवेशन र त्यसपछि स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति निर्धारण गरेका हुन् ।

पार्टीको सचिवालय बैठकबाट वडा, पालिका, जिल्ला र प्रदेश कमिटीसम्मको अधिवेशनको मिति निर्धारण गरिएको जनमतका सचिव बीपी साहले जानकारी दिए । उनका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जनमतले हरेक वडामा पर्यवेक्षक खटाउने जनाएको छ ।

त्यस्तै, माघ १५ देखि फागुन १५ गतेसम्म पालिका अधिवेशन र चैत ३ गते एकैसाथ सबै जिल्ला अधिवेशनको घोषणा गरिएको छ । २०८१ वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशनहरुको कार्यक्रम रहेको सचिव साहले बताए ।

जनमतले यसअघि ०७७ सालमा पहिलो अधिवेशन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update