
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन् ।
युगान्डाको तीनदिने भ्रमण सकेर आइतबार फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शान्तिप्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरुसँग आफूले वार्ता गरिसकेको बताए । उनले हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने आश्वासन पनि दिए । शान्तिप्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने प्रधानमन्त्री दाहालको दाबी छ ।
‘टीआरसीबारे सबै छलफल र तयारी गरेका छौं । संसद्को उपसमितिबाट टुंग्याएर त्यो समितिमा गएको छ । अब फुलहाउसमा लैजाने तयारी छ । सदन खुल्नेबित्तिकै टीआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुंग्याइन्छ । टुंग्याउने कुरा सहमतिबाट टुंग्याउन मेरो पूरै कोसिस छ,’ उनले भने, ‘राजनीतिक दलका नेताहरुसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टीआरसी विधेयक टुंगिन्छ । शान्तिप्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ ।’
प्रधानमन्त्री दाहालले एकवर्षे उपलब्धि सार्वजनिक गर्दाको सम्बोधनअनुसारै काम अघि बढाइरहेको जानकारी दिए ।