Mero Chitwan
पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा

भरतपुर- चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको  काम अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहका अनुसार वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म र चौबिसकोठीमा सर्भिस लेन बनाउन बाँकी छ भने अन्य क्षेत्रमा लाइटिङको काम बाँकी छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम अगाडि बढेको छ ।

सो निर्माण कम्पनीले २०७७ माघ २८ भित्र विस्तार गरी सक्नेगरी कामको जिम्मा लिएको थियो । उक्त  मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको हो ।  अन्तिमपटक मङ्सिरमा भदौसम्म सक्नेगरी म्याद थप गरिएको शाहले जानकारी दिए । 

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी छ दशमलव ०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत रु एक अर्ब ७६ करोड छ । भौतिक प्रगति ७५ प्रतिशत भए पनि वित्तीय प्रगती ६५ प्रतिशतमात्र भएको शाहले जानकारी दिए । उनका अनुसार यस सडकलाई यस वर्ष रु पाँच करोडमात्र बजेट विनियोजन भएको थियो । बाँकी रकम नपुगेर मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । “भुक्तानी लगभग ६५ प्रतिशत भएको छ, अझै रु ४५ करोड निर्माण कम्पनीलाई दिन बाँकी छ”, उनले भने, “सडक विभागमा फाइल पठाएका छौँ, भुक्तानी छिट्टै हुनेमा आशावादी छौँ ।”

sadak-1705810143.jpg

अहिलेसम्म भुक्तानी समयमा नहुँदा सडक विस्तार गर्न समस्या परेको निर्माण कम्पनीले जनाएको छ । फागुनको पहिलो सातासम्म पुलचोकबाट वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्र हुने पुलचोक–गोन्द्राङ छ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङ्गानाले जानकारी दिए । वीरेन्द्र क्याम्पसबाट लायन्सचोकसम्म नाला निर्माणकार्य अन्तिम चरणमा पुगेको उनले बताए । 

सडकसँग जोडएका १४ स्थानमा सडकको पानी फाल्ने, गाडी, बाइक धुने कार्यले सडक निर्माण र गुणस्तरमा असर परेकाले महानगरले सचेत गराएको महानगरका इन्जिनियर साकार लामाले बताए । उनले महानगर प्रमुख रेनु दाहालले सडक निर्माणको दैनिक रिपोर्टिङ लिने गरेको  उल्लेख गर्दै बीस दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको बताए । 

419216118_7353848157998893_6379314754790709851_n-1705810143.jpg

महानगरपालिका प्रमुख दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको प्रमुख दाहालले जानकारी दिइन् । उनले सडक निर्माणमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाले सहजीकरण गरेर काम गरिरहेको बताइन् । 

पचास मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजना छ । सडकको दायाँबायाँ ११ दशलमलव पाँच–११ दशमलव पाँच मिटरको पिच हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बन्ने छ । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update