Mero Chitwan
रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदले भने–नेपालीलाई सेनामा भर्ना नलिनूस्

काठमाडौं–रुसले रुसी सेनामा भर्ना भई युद्धका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउन पहल गरिने जनाएको छ । असंलग्न राष्ट्रहरुको आन्दोलन–नामको युगाण्डामा भइरहेको सम्मेलनका अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनले यस्तो बताएका हुन् । 

मन्त्री साउदले रुसी पक्षले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको उल्लेख गर्दै यसका लागि प्रक्रिया छिटो अघि बढाउन आग्रह गरेका थिए । जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताएका थिए । रुसी सेनामा भर्ना भएका २ सय नेपालीमध्ये हालसम्म १२ जनाको मृत्यु भइसकेको छ भने नेपाली फिर्तिका लागि नेपालले गरेको आग्रहप्रति रुसले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन । 

वार्तामा परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका थिए । उनले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताएका थिए। 

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफ्नो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने । 

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update