चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने काम गर्न लागिएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेको सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ । तीन–चार दिनदेखि टोली परिचालन गरिएको उनले बताए ।
उनले भने, “निकुञ्जको कार्यालयबाट हात्ती धपाउन थप एक टोली पठाइएको छ । यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज ध्रुवे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा त्यस क्षेत्रमा टोली परिचालन गरिएको उनले बताए ।
“निकुञ्जबाट गएको टोली गाडीसहित रहेकाले जहाँ हात्ती छ, त्यहाँ पुग्न सक्छ । टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउँछ ।” तिवारीले भने । पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाका आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए । अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।
निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो रहेका छन् । ती हात्तीले अहिले खासै समस्या नदिए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाएका छन् । लामो दूरी हिँडेर आतङ्क मच्चाउने ध्रुवे हात्ती हो । तिवारीले भने, “हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।”