Mero Chitwan
सात दिने संघर्षविश्राम सकिएलगत्तै गाजामाथि इजरायलको आक्रमण

तेल अबिब । हमाससँगको सातदिने स‌ंघर्षविराम सकिएलगत्तै इजरायलले गाजामाथि भीषण आक्रमण गरेको छ । आक्रमणमा ठूलो संख्यामा प्यालेस्टिनीहरु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लंघन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो । गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ ।

इजरायली सेनाले दक्षिणी गाजाको खान युनुस क्षेत्रमा पर्चा छर्दै त्यहाँका बासिन्दालाई अझै दक्षिणतर्फ जान चेतावनी दिएको छ । विश्लेषकहरुले यसबाट आगामी दिनमा इजरायलले दक्षिणी गाजामा समेत आक्रमण तीव्र पार्ने तयारी गरेको अनुमान गरेका छन् । यसअघि इजरायली चेतावनीकै कारण उत्तरी गाजाका बासिन्दा दक्षिणतर्फ आएका थिए ।

सातदिने संघर्षविरामका क्रममा हमासले ११० बन्धक र इजरायलले २४० प्यालेस्टिनी बन्दी रिहा गरेका थिए । युद्धमा अहिलेसम्म ६ हजार बालबालिकासहित करिब १५ हजार प्यालेस्टिनी मारिएका छन् । इजरायलतर्फ १२ सयको ज्यान गएको छ ।

यसैबीच संघर्षविश्राम लम्ब्याउन हमास र इजरायलबीच वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले जनाएको छ । राष्ट्रसंघले पनि युद्ध पुन: सुरु भएकामा चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update