Mero Chitwan
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै

चितवन : वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ ।

६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यापर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै राजश्व संकलन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

चितवन निकुञ्ज दुर्लभ वन्यजीव एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायत मुख्य बासस्थल हो । यस्ता जीव जनावर, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशीविदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । चालु आर्थिक वर्षको पुससम्म कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन् ।

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज घुम्नेमध्ये ९० हजार ११४ नेपाली र ४३ हजार ४२५ विदेशीले रहेको बताए । यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका छन् । उनीहरु अधिकांश भारतीय हुन् ।

निकुञ्जले यो अवधिमा १७ करोड ४८ लाख ७० हजार १६१ रुपैयाँ राजश्व आम्दानी गरेको छ । जसमध्ये पर्यटनबाट मात्रै १४ करोड ४७ लाख ८१ हजार ३०० रुपैयाँ आम्दानी गरेको संरक्षण अधिकृत तिवारीले बताए । निकुञ्जले स्वदेशी, सार्क देश र विदेशी पर्यटकको फरक फरक दरमा प्रवेश शुल्क लिने गर्छ । डुंगा सफारी, जीप सफारी र हात्ती सफारीको पनि थप बेग्लै शुल्क लाग्छ ।

हात्ती सफारी निकुञ्जभित्र हुँदैन । निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा हुने गरेको छ । जीप सफारी निकुञ्ज भित्र र मध्यवर्ती वन दुवैमा हुने गरेको छ । जीप सफारीबाट मात्रै यो अवधिमा निकुञ्जले दुई करोड ९५ लाख ८७ हजार सात सय रुपैयाँ राजश्व आम्दानी गरेको छ ।

गत वर्ष तीन लाख हाराहारीमा पर्यटक निुकुञ्ज घुम्न आएका थिए । गत वर्ष साउनदेखि पुससम्म निकुञ्ज घुम्ने एक लाख ३९ हजार २२६ थिए । गत वर्षको तुलनामा पर्यटक संख्यामा सुधार हुँदै गएको देखिन्छ । कोरोनाअघि विदेशी पर्यटक अत्यधिक आउने चितवन निकुञ्जमा अहिले स्वदेशीनै धेरै छन् । गत वर्ष यो अवधिमा २४ हजार १७२ र पुरा आर्थिक वर्षमा ५५ हजार ८७२ जना विदेशी पर्यटकले निकुञ्ज घुमेको देखिन्छ ।
त्यसैले विदेशी पर्यटकको संख्यामा यो वर्ष राम्रो सुधार हुँदै गएको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘आर्थिक गतिविधिलाई टेवा दिन स्वदेशी पर्यटकको पनि राम्रो भुमिका हुन्छ । त्यसैगरी विदेशी मुद्रा आर्जनका लागि विदेशी पर्यटकको संख्या बढ्नु पर्छ । कोरोनाले घटेको विदेशी पर्यटक आवागमनको अवस्था यो वर्ष लयमा फर्कने संकेत छ,’ संरक्षणकर्मी तथा पर्यटन व्यवसायी बासु ढुंगनाले भने । निकुञ्जले गर्ने आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम निकुञ्जसँग जोडिएका वस्ती मध्यवर्ती क्षेत्रमा खर्च गर्ने कानुनी परिपाटी छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update