Mero Chitwan
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको

चितवन- तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उनको भनाइ छ । 

 देवघाटस्थित वेणीसङ्गममा स्थान गर्दा पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वासका कारण यहाँ हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको बताइन्छ । पद्मम पुराणकाअनुसार सूर्य मकर राशीमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले पुण्य प्राप्ति हुने विश्वास रहेको उहाँको भनाइ छ । देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तीर्थस्थल हो । गोसाइँकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानका रुपमा रहेको देवघाटधामको वेणीसङ्गम भएकाले यो पर्वको विशेष महत्व रहेको छ ।

  मेलामा सुरक्षाका लागि तनहुँबाट एक सय नेपाल प्रहरी र ४५ जना सशस्त्र प्रहरी र चितवनबाट एक सय नेपाल प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा ३० जना नेपाली सेना परिचालन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update