Mero Chitwan
जम्मु कश्मीरमा आतंकवादी आक्रमण : यी हुन् पाकिस्तानविरुद्ध भारतले गरेका कडा निर्णय

एजेन्सी- जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको प्रतिक्रियास्वरुप भारतले पाकिस्तानविरुद्ध कडा निर्णय गरेको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा नयाँ दिल्लीमा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा पनि बन्द गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवासमा भएको बैठकमा केन्द्रीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत धेरै शीर्ष अधिकारीहरू उपस्थित थिए।

मंगलबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। 

भारतले अटारी एकीकृत जाँच चौकीलाई तत्काल बन्द गर्ने निर्णय गरेको छ। सरकारले भिसा भएका पाकिस्तानीलाई मे १, २०२५ भन्दा पहिल्यै फर्कन आदेश दिएको छ । 

विदेश सचिव विक्रम मिश्रीले अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजना अन्तर्गत जारी गरिएको भिसाको आधारमा भारत यात्रा गर्न नपाउने बताए । यो योजनाअनुसार पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएका भिसाहरू रद्द गरिनेछ । उनीहरुले ४८ घण्टा भित्र भारत छोड्नुपर्नेछ।

नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि भारत छोड्न एक हप्ताको समय दिइएको छ। भारतले इस्लामाबादस्थित आफ्नो उच्चायोगबाट रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाइरहेको छ। दुवै उच्चायोगहरूमा यी पदहरू खारेज भएको मानिनेछ।

यी सैन्य सल्लाहकारहरूका पाँच जना सहयोगी कर्मचारीहरूलाई पनि दुवै उच्चायोगबाट फिर्ता लगिनेछ। उच्चायोगहरूमा कर्मचारीहरूको संख्या क्रमशः ५५ बाट घटाएर ३० बनाइनेछ। यो निर्णय मे १, २०२५ देखि लागू हुनेछ।

सीसीएसले देशको सुरक्षा अवस्थाको समीक्षा गर्दै सुरक्षा बलहरूलाई सतर्क रहन भनेको छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update