Mero Chitwan
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, उर्जा राज्यमन्त्री बर्खास्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । पन्तको भोलि बिहीबार शपथ गराउने कार्यक्रम तय भएको छ ।

पन्त एमालेका समानुपातिक सांसद हुन् ।  गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका उनलाई माफी माग्न अस्वीकार गरेको भन्दै ओलीले बुधबार बर्खास्त गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने भन्दै राज्यमन्त्री तामाङले असन्तुष्टि जनाउँदै आएका थिए ।

मन्त्रालयका सचिव सुरेश आचार्यलाई राज्यमन्त्रीले स्पष्टीकरण सोधेको भन्दै प्रधानमन्त्री ओली उनीप्रति रुष्ट बन्दै आएका थिए । राज्यमन्त्री तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनि सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । उनी साउन १८ मा नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update