श्रीनगर। भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा १६ जना मारिएको पुष्टि भएको छ । मारिनेमा एक नेपाली सन्दीप न्यौपानेसमेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।”
पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोतका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।
गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएका छन् भने उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् । अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पुर्याइएको छ, जसमा दुईजनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ ।
विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् ।
सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।
भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।
यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।