Mero Chitwan
शिक्षामन्त्री विद्या भट्टराईले किन दिइन् राजीनामा ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । शिक्षक आन्दोलन चर्कँदै गएको र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भूमिकाविहीन बनाउन खोजेको भन्दै असन्तुष्टि जनाउँदै आएकी मन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै आज राजीनामा दिएकी हुन् । 

भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर शिक्षामन्त्रीबाट राजीनामा दिएकी हुन् । मन्त्रीको राजीनामापछि आज बसेको मन्त्रिपरिषद्ले शिक्षकका मागबारे गर्ने भनिएको निर्णयसमेत बिथोलिएको छ । 

सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएको २० दिन हुँदासमेत औपचारिक वार्तासम्म हुन नसकेको अवस्थामा शिक्षामन्त्री भट्टराईको राजीनामाले सरकार थप दबाबमा परेको छ ।

शिक्षामन्त्रीको राजीनामालाई शिक्षकका मागमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार रहेको र विभागीय मन्त्रीलाई बेवास्ता गरेको टिप्पणीसँग जोडेर हेरिएको छ । वैशाख ५ गते राति शिक्षक महासंघका पदाधिकारीसँग छलफल गर्दा प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीलाई सहभागी बनाएका थिएनन्  । 

शिक्षकका मागबारे मन्त्रालयस्तरमा निरन्तर छलफल र समाधानको पहल भए पनि प्रधानमन्त्री ओलीले वार्ताहरुमा आफूलाई संलग्न नगराएकोमा शिक्षामन्त्री भट्टराई असन्तुष्ट देखिएकी थिइन् । उनले विद्यालय शिक्षा ऐन जारी गर्ने अवस्था नबने आफू पदमै नरहने बताउँदै आएकी थिइन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update