
काठमाडौं । नेपाल र अफगानिस्तानबीचको आईसीसी पुरुष अन्डर नाइन्टिन क्रिकेट विश्वकप एसिया छनोटको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेट रन रेटका आधारमा अगाडि रहेको अफगानिस्तान आगामी वर्ष जिम्बावे र नामिबियामा हुने अन्डर नाइन्टिन विश्वकपमा छनोट भएको छ । नेपाल छनोटको उपविजेता बने पनि विश्वकपमा पुग्न सकेन ।
शुक्रबार राति परेको वर्षाका कारण मूलपानी क्रिकेट रंगशालाको पिच दिउँसो २ बजेसम्म पनि सुक्न सकेन । खेल बिहान ९ बजेलाई निर्धारण गरिएको भए पनि दिउँसो साढे १२ बजेसम्म मैदानका कर्मचारीले सुपर सोपर र कपडा प्रयोग गरेर मैदान आउटफिल्ड सुकाउने काम गरेका थिए । तर अम्पायरको टोलीले साढे १ र २ बजेसम्म निरीक्षण गर्दा पनि मैदान खेल खेलाउनका तयार नहुँदा खेल रद्द गरिएको हो ।
दुवै टोलीले ७-७ अंक बनाएका छन् । यसअघि भएका तीन खेलमा अफगानिस्तानको नेट रन रेट नेपालको भन्दा धेरै रहेका कारण अफगानिस्तान शीर्ष र नेपाल दोस्रो स्थानमा थियो । एउटा मात्रै टोली विश्वकपमा छनोट हुने भएका कारण नेपालको सम्भावना समाप्त भएको हो ।
यसअघि भएको खेलमा नेपाल र अफगानिस्तान दुवैले ओमान, युएई र हङकङको अन्डर नाइन्टिन टोलीलाई हराएका थिए । त्यसैले विश्वकपमा पुग्न यो खेल निर्णायक हुने थियो । तर वर्षाले प्रभावित पारेका कारण खेल रद्द भयो ।