Mero Chitwan
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

काठमाडौँ । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । 

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । 

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । 

उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाउनुभएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । 

बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update