
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा समेत सहभागी नहुने निर्णय गरेको छ । वैशाख ११ देखि सुरु हुने परीक्षामा शिक्षक, कर्मचारी कोही पनि सहभागी नहुने निर्णय गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिएका छन् ।
शैक्षिक सत्र सुरु हुँदा समेत शिक्षकहरु भने विद्यालय बन्द गरेर आन्दोलनमा छन् । आजदेखि सुरु भएको नयाँ शैक्षिक सत्रको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१३ दिनदेखि पेशागत माग राखी शैक्षिक हड्तालसहित सडक आन्दोलन गरिरहेका सामुदायिक शिक्षकका मागप्रति भने प्रधानमन्त्रीले कुनै सम्बोधन गरेका छैनन् । शिक्षकका मागप्रति सरकारले गम्भीरतापूर्वक चासो नदिँदा शैक्षिक सत्र र भर्ना अभियान नै प्रभावित बनेको छ ।