Mero Chitwan
नर्भिक अस्पताल ३३ औं वर्षमा, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा

काठमाडौं : निजी क्षेत्रकै अग्रणी अस्पताल नर्भिक इन्टरनेशनल अस्पताल आज वैशाख १ गतेदेखि ३३ औं वर्षमा प्रवेश गरेको छ ।

सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पतालले तीन दशकभन्दा लामो अवधिमा २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ भने अस्पताल विदेशी नागरिकका लागि पनि विश्वसनीय गन्तव्य बन्दै गएको छ । हालसम्म सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिइसकेको अस्पतालले जनाएको छ ।

हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुने जनाइएको छ । अस्पताल सन् २०२१ को  जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ भने निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ ।

डिजिटल प्रणाली अंगीकार गरेको अस्पतालले बिरामीले ल्याब परीक्षण रिपोर्ट आफैं प्रिन्ट गर्न सकिने सुविधासहितको ‘अटोमेटिक रिपोर्ट प्रिन्टिङ सिस्टम’ सुरु गरेको छ । अस्पताललाई डिजिटलाइज्ड गर्ने क्रममा छुट्टै एप विकास गरिएको छ भने ल्याब परीक्षणको रिपोर्ट पनि बिरामीले एपमार्फत् सहज रुपमा हेर्न सक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

यस्तो छ अस्पताल टाइमलाइन
स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु ग¥यो । त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु ग¥यो । यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरु सञ्चालन भइरहेका छन् ।

पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरिएको छ ।

यसबाहेक अस्पतालले सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइरहेको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ, जसका लागि एमडी तहका चिकित्सक, मेडिकल अफिसर, नर्सिङ तथा सिनियर प्यारामेडिकल टिम चौबिसै घण्टा सेवामा खटिनुभएको छ । प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update