
काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो ।
४० ओभरमा खेलाइएको खेलमा जितका लागि नेपालले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (यूएई) ले ३६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा र अप्रयाप्त प्रकाशको कारण खेल फेरि हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी बनेको हो ।
यूएईका यायिन किरण राईले अविजित एक सय चार रन बनाएका थिए यस्तै मुहम्मद रायन खानले ३५ र करण धिमन १५ रन बनाए । बलिङमा नेपालका अशोक धामी र सन्तोषकुमार यादवले दुई दुई तथा अभिषेक तियारी र नरेन भट्टले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा नौ विकेटको क्षतिमा दुई सय रन बनाएको थियो । मैदान हिलो भएका कारण टसमा ढिलाइ भएका कारण खेललाई ४० ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान नरेन भट्टको अर्धशतकीय इनिङ्स खेले । नरेनले ७५ बलमा सात चौकाको सहयोगमा सर्वाधिक ६७ रन बनाए ।
यस्तै दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए । बलिङमा यूएईका युदिश सुरीले तीन विकेट लिए । युग शर्मा र शलोम डी सुजाले दुई दुई तथा अलिअस्गर शम्स र करण धिमनले एक एक विकेट झारे ।
यस्तै मुलपानी मैदानमा आइतबार नै भएको अर्को खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ३६.२ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो ।
९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ११.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । छनोटमा नेपाल, यूएई, अफगानिस्तान, हङकङ र ओमानको सहभागिता रहेको छ ।