Mero Chitwan
नयाँ वर्षको सन्देशमा पूर्वराजाले भने-०८२ मा जनचाहना अनुसारको परिणाम हासिल हुने विश्वास छ [पूर्णपाठ]

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको बताएका छन् । 

नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको बताएका हुन् ।

उनले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया पनि दिएका छन् । प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उनको भनाइ छ । 

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् । ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’

यस्तो छ पूर्वराजा शाहले जारी गरेको सन्देश:
प्रिय आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरू,
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योती, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ वर्ष नुतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ ।

केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।

वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।

स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ ।

युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।

आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।

जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसागै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गनुपर्दछ भन्ने ठान्दछौं । हाम्रा आह्वान हामी कसैको नीजि स्वार्थ पूर्तीका लागि होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको समप्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः अस्तित्व हामी आफैंले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् । अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update