Mero Chitwan
नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा

काठमाडौं । नेपाल चार देशीय टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपाल र हङकङबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो ।

 

हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि घरेलु टोलीले पहिले ब्याटिङको अवसर पाएको थियो । हङकङले ‌९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको हो । हङकङका अंशुमान रथ १७, जिशान अली ३० र निजाकत खान ३ रनमा आउट भएका थिए । बाबर हयात र कल्हन चालुले समान १-१ रन बनाएको अवस्थामा वर्षा भएको थियो । बलिङमा नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिएका थिए ।

तर र‌ंगशाला क्षेत्रमा वर्षा नरोकिएपछि दुवै टोलीले एक-एक अंक बाँडेका हुन् । नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो । अब नेपालले फाइनलमा कुवेतको सामना गर्नेछ । कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो । तीन अंक बनाएको हङकङ र कतारले भोलि तेस्रो स्थानका लागि खेल्नुपर्ने छ । 

जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो । आज बिहान नै भएको अर्को खेलमा कुवेतले कतारलाई पराजित गरेपछि उसले फाइनलमा स्थान बनाएको थियो । यसअघि नेपालले कतारलाई ८ र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । अब फाइनल खेल भोलि हुनेछ ।

 

 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update