Mero Chitwan
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने

काठमाडौं– दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा पनि नगर्ने निर्णय गरेको हो । 

सरकारले आगामी जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएका थिए ।

सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुनसक्ने सम्भावना नदेखिएको सो समूहले जानकारी गराएको थियो । सो ध्यानाकर्षणपछि दशौंको तयारीको सन्दर्भमा निर्णय गर्न शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो ।

खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि तीन पटक प्रतियोगिताको मिति सारिसकेका छन् । पहिलो पटक प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै प्रतियोगिता अन्योलमा परेको थियो ।

दोस्रो पटक प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने निर्णय गरियो । त्यसपछि प्रतियोगितालाई सारेर जेठको पहिलो साता पुर्‍याइएको थियो । सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो । प्रतियोगितालाई लक्षित गर्दै प्रदेश सरकारले दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update