
चितवन : उद्योग वाणिज्य संघ चितवन देशमै उत्कृष्ट उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ । काठमाडौमा भएको नेपाल उद्योग वाणिज्य महासंघकोे ५९ औँ वार्षिक साधारण सभामा ‘क’ वर्गका उद्योग वाणिज्य संघमध्ये उद्योग वाणिज्य संघ चितवन उत्कृष्ट संघको रुपमा सम्मानित भएको हो ।
कार्य दक्षता, आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय कार्य गरेको ठहर गर्दै महासंघले चितवनलाई सम्मान गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
चितवनका उद्योगी व्यवसायीहरुको साझा संस्था उवासंघ चितवनले औद्योगिक तथा व्यवसायिक विकासमा ,चितवन जिल्लाको सामाजिक आर्थिक विकास, राजश्व सम्बन्धी नीति नियममा गरेको वकालत, चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधिको विकासमा खेलेको भूमिका, सचिवालय, संघका सदस्यहरु लगायत विभिन्न विधाहरुको मूल्याङ्कन गर्दा ‘क’ वर्गका उद्योग वाणिज्य संघहरु मध्य उत्कृष्ट हुन सफल भएको हो ।
बर्तमान कार्यसमितिको कामको मूल्याङकन गरेर महासंघले सम्मानित गरेकोमा खुसी लागेको अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए । उनले वर्षभरीको गतिविधिलाई आधार मानेर छानोट समितिले उत्कृष्ट घोषित गरेको जानकारी दिए ।
बर्तमान कार्यसमितिले व्यबसायीका लागि कर सम्बन्धि छलफल,अन्तरक्रिया र सहजिकरणका काम तीब्र गतिमा गरेको बताए । उद्योग वाणिज्य संघ चितवन यसअघि राजन गौतम अध्यक्ष भएको समयमा उत्कृष्ट संघको रुपमा सम्मानित भएको थियो ।