
भरतपुर : चितवनको नारायणगढ क्याम्पाचौरमा हुने ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ तयारी अन्तिम चरणमा पुगेको छ । युवा उद्यमी मञ्च नेपाल चितवनले नयाँ बर्षको अवसर पारेर ‘मेड ईन नेपाल एक्स्पो तथा फुड फेष्टिबल २०८१’ को आयोजना गर्न लागेको हो ।
चैत २९ गते देखि वैशाख २ गतेसम्म सञ्चालन हुने एक्स्पो हरेक दिन बिहान १० देखि ६ बजेसम्म चल्ने छ भने बेलुका फुड फेष्टिवल तथा सांगीतिक कार्यक्रम हुने युवा उद्यमी मञ्च नेपाल चितवनका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । एक्स्पोको भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ ।
१ सयभन्दा बढी स्टल रहने एक्स्पोको तयारी ८० प्रतिशत पुरा भएको मञ्चको पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए । एक्स्पोमा कृषि निर्माण सामग्री प्रविधि हस्तकला परम्परागत कपडा फुड एण्ड बेभरेज ग्रिन ईण्डस्ट्री रियल स्टेट तथा ईनोभेसन लगायतका विभिन्न क्षेत्रका क्रियाशील व्यवसायीहरू सहभागी हुनेछन् ।
एक्स्पोमा स्टार्टअप स्टलमार्फत् १० वटा नवप्रवर्तन युवा उद्यमीहरूलाई प्राथमिकता दिएको र नेपालमा नै उत्पादित विभिन्न सामग्रीहरू प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ । एक्स्पोमा ग्रामीण क्षेत्रका उद्यमी तथा अल्पसंख्यक समुदायका लागि निःशुल्क स्टलको व्यवस्था गरेको मञ्चका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण सापकोटाले बताए ।
एक्स्पो अवधिभर युवामुखी प्यानल छलफलहरू पनि सञ्चालन गरिने बताइएको छ । एक्स्पोमा नेपालमा उत्पादनहुने खाद्यन्न सामग्रीदेखि विलासी सामग्री सम्मको अवलोकनगर्न पाइनेछ । स्वदेशी स्वादिष्ट अचार, मह, स्वदेशी कपडा, टोपी, ब्याग, जुत्ता, सेन्चुरी मसला देखि १ सयभन्दाबढी नेपाली उत्पादनसम्बन्धी व्यावसायिक स्टल रहने मञ्चका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए ।