Mero Chitwan
दुर्गा प्रसाईंले भने- मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु
फाइल

काठमाडौं–  चैत १५ गते तीनकुनेको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारकर्मी र आफूले भनेका अधिवक्ताहरूको रोहबर हुने हो २४ घण्टाभित्रै आफू आउने बताएका छन् । 

'पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु,' प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, 'मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।'

त्यस्तै उनले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर उक्त षड्यन्त्र रचिएको पनि उनको आरोप छ । ती राजावादी व्यक्तिका बारेमा भने पछि खुलासा गर्ने प्रसाईंको दाबी छ ।

आफ्नाबारेमा मिडियाहरूमा मिम र जोक बनेको पनि उनले बताए । 'धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने काम भयो । मलाई जोकर बनाउने काम भए । दुर्गा प्रसाईं मुर्गा प्रसाईं भनेर उडाइयो । ती देखेर मलाई अचम्म लाग्यो,' उनले भने । आफू पेरुको गोन्जालो नबन्ने उल्लेख गर्दै उनले भने, 'हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन र यात्रा एक व्यक्तिबाटै सुरु हुन्छ ।'

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update