Mero Chitwan
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकलाई फेरि वार्तामा बोलायो

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई फेरि वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।

यसअघि चैत २१ र २२ गते पनि शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेको थियो । शिक्षकले भने वार्ताका लागि सरकारले गरेको आग्रहलाई अस्वीकार गर्दै आएका छन् ।

अहिले वार्ता, संवाद आवश्यक नरहेको भन्दै विगतका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्न महासंघले मन्त्रालयलाई जवाफ पठाएको छ । शिक्षा मन्त्रालयले २१ गते विज्ञप्ति र २२ गते पत्राचार गरेर वार्तामा बोलाएको थियो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री भट्टराईले समेत वार्तामार्फत शिक्षकमा समस्या समाधान गरिने बताएका थिए । प्रवक्ता सापकोटाले २७ गते वार्तामा आउन पुनः विज्ञप्ति जारी गरेका हुन् ।

वार्ता र संवादको समय तालिका आपसी सल्लाहबाट तय हुने समेत विज्ञप्तिमा उल्लेख छ । राहत, अस्थायी, साविक उमावि, बालविकास र विद्यालय कर्मचारी लगायत शिक्षक-कर्मचारीका प्रतिनिधित्व हुने गरी वार्तामा आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update